जनकपुरधाम, २५ असार । नेपालमा बढ्दो सुरक्षा चुनौती र आतंकवादको सम्भावित जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले जनकपुरधाममा ‘जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ विषयक विशेष बहस कार्यक्रम शुरु भएको छ ।

बुधबारदेखि शुरु भएको दुईदिने बहस कार्यक्रम राष्ट्रिय एकता अभियानको आयोजनामा सञ्चालन भइरहेको हो । उद्घाटन सत्रमा अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकी समूहहरूले मधेशलाई ट्रान्जिट एरिया बनाउने प्रयास गरिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि रहेका अभियानका केन्द्रिय उपाध्यक्ष तथा पूर्व संविधानसभा सदस्य भूपेन्द्र चौधरीले नेपालका सुरक्षा निकायहरू अझ सतर्क र सक्रिय हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘राज्य संयन्त्र समयमै सजग नभए बाह्य षड्यन्त्रले मधेश मात्र नभई सम्पूर्ण राष्ट्र अस्थिर बनाउने खतरा छ ।’

कार्यक्रममा अभियानका अन्य केन्द्रीय सदस्यहरू जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा, पंकज झा लगायतको उपस्थिति रहेको थियो । वक्ताहरूले सीमा क्षेत्रको सुरक्षालाई बलियो बनाउन र नागरिकस्तरमै चेतना अभिवृद्धि गर्न यस्ता बहस आवश्यक रहेको बताए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, सुरक्षा विश्लेषक, राजनीतिकर्मी र सामाजिक अगुवाहरूले आ–आफ्ना विचार राख्ने आयोजकले जनाएको छ ।