जनकपुरधाम, २५ असार । जनकपुरधाममा आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेका ४८ वर्षीय ज्वाइँ बेचन महासेठलाई प्रहरीले एक सातापछि पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका महासेठले गत असार १८ गते बिहान उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय ससुरा बासुदेवप्रसाद साह (विमल)को पेटमा चारपटक छुरा प्रहार गरेका थिए । घरेलु विवादकै कारण क्रोधित भएर उनले घटनास्थलमै साहको ज्यान लिएका थिए ।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीका अनुसार घटनापछि फरार रहेका अभियुक्तलाई मंगलबार जनकनन्दनी गाउँपालिका नजिकको रेल्वे स्टेशन क्षेत्रबाट विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउका क्रममा हत्यामा प्रयोग गरिएको स्टिलको छुरा र भाग्न प्रयोग गरिएको रातो–कालो रंगको होन्डा स्कुटर (प्रदेश ०२–००७ प. ९९३२) समेत प्रहरीले बरामद गरेको छ ।

मृतक साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो ।

हाल बेचन महासेठमाथि कर्तव्यज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।