फरक क्षमता भएका व्यक्तिमाथि जलवायुको असर बढीः मुख्यमन्त्री सिंह

जनकपुरधाम, २५ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जलवायु परिवर्तनको प्रतिकूल असर सबैभन्दा बढी फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूमाथि पर्ने बताउँदै उनीहरूको जीवनस्तर उकास्न प्रदेश सरकार समन्वित ढंगले अघि बढ्ने बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित ‘अपाङ्गता, जलवायु परिवर्तन र जीविकोपार्जन सम्मेलन २०८२ः अवस्था, चुनौती र समाधान तर्फको पहल’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले फरक क्षमता भएका व्यक्तिको शिक्षा, सीपमूलक तालिम र रोजगारीका लागि विशेष पहल आवश्यक रहेको बताए ।
‘सुविधा सम्पन्न नमूना विद्यालय तथा सीप प्रशिक्षण केन्द्रहरू प्रदेशमै स्थापना गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारले यसमा सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’
लाइफ नेपालको आयोजना, अष्ट्रेलियन एडको आर्थिक सहयोग र सिभिएम ग्लोबलको समन्वयमा सम्पन्न सम्मेलनमा सरोकारवालाहरूले जलवायु संकटमा फरक क्षमता भएका नागरिकको पहुँच, अवसर र अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने धारणा राखे ।
जनकपुरधाम उपमहानगरका प्रमुख मनोज कुमार साहले नगरभित्र फरक क्षमता भएका व्यक्तिको वर्गीकरणसहित लक्षित कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले जीवनोपयोगी कार्यक्रमका लागि संस्थागत लगानी महत्त्वपूर्ण भएको बताए ।
कार्यक्रममा विभिन्न संघसंस्था, अधिकारकर्मी, अपाङ्गता क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूको समेत सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


