धनुषामा बालकलाई हिरासतमा कुटपिट, प्रहरीमाथि यातनाको आरोप

जनकपुरधाम, २५ असार । चोरीको आरोपमा पक्राउ परेका धनुषाको धनौजी गाउँपालिका–२ निवासी १५ वर्षीय रोहित पण्डितमाथि प्रहरी हिरासतमा निर्घात कुटपिट र यातना दिइएको आरोप सार्वजनिक भएको छ ।
पीडित बालकका परिवारजनले जिल्ला प्रहरी कार्यालय धनुषामा नै कुटपिट गरिएको बताएका छन् ।
घटनाबारे पण्डित परिवारले जानकारी दिंदै भने, ‘हामीले छोरा घर फर्काएपछि शरीरभर निलडाम देख्यौं । सोधपुछ गर्दा प्रहरी हिरासतमा बारम्बार पाइपले हानेको, बन्दुक देखाएर आरोप स्वीकार गर्न दबाब दिएको बताएका छन् ।’
मङ्गलबार राति स्थानीय चार वटा पसलमा भएको चोरी घटनामा संलग्न रहेको भन्दै रोहितसहित १४ वर्षीय सुमित पण्डित र १६ वर्षीय रोहित साहलाई पक्राउ गरिएको थियो । तर, लिखित उजुरी, प्रमाण र कानुनी प्रक्रिया नअपनाई बालकहरूलाई जबरजस्ती हिरासतमा लिई अमानवीय व्यवहार गरिएको परिवारजनको आरोप छ ।
धनौजी प्रहरी चौकीका इञ्चार्ज असई हर्क बहादुर श्रेष्ठमाथि राजनीतिक दबाबमा बालकहरूलाई झूटो मुद्दामा फसाएको आरोप समेत लागिरहेको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुण बहादुर सिंहले भने ‘अनुसन्धान भइरहेको’ संक्षिप्त प्रतिक्रिया दिए ।
बालबालिकालाई हिरासतमा यातना दिने कार्य मुलुकी अपराध संहिता २०७४ को धारा १६७ विपरीत छ । सो कानूनले कुनै पनि व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिन नपाइने स्पष्ट व्यवस्था गरेको छ । साथै, नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धिहरू, विशेषतः बालअधिकारसम्बन्धी महासन्धिअनुसार यस्तो व्यवहार मानवअधिकारको गम्भीर उल्लंघन मानिन्छ ।
मानवअधिकारकर्मीहरू र नागरिक समाजले घटना प्रति चासो व्यक्त गर्दै दोषीमाथि कारबाही र पीडित बालकहरूलाई न्याय दिन राज्य गम्भीर हुनुपर्ने माग गरिरहेका छन् ।
स्थानीयस्तरमा बालअधिकार संरक्षणका सवालमा काम गर्ने संस्था र नागरिक समाजको ध्यान आकृष्ट गराउन आवश्यक देखिन्छ । यसबारे राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बाल अधिकार संरक्षण समिति लगायत निकायहरूले स्वतन्त्र छानबिन गर्नुपर्ने माग समेत उठ्न थालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


