जनकपुरधाम, २५ असार । समाजमा एकल महिलाप्रति हेय दृष्टिकोण हटाउन र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न धनुषाको लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरूले बुधबार र्‍याली प्रदर्शन गरेका छन् ।

दलित अधिकारका क्षेत्रमा क्रियाशील संस्था दलान नेपाल र एकल महिला टोली अगुवा समूहको संयुक्त आयोजनामा निकालिएको र्‍यालीमा गाउँपालिकाभरिका ५ सय ३२ जना एकल महिलाहरूको सहभागिता थियो ।

र्‍यालीमा सहभागी एक वृद्धाले भनिन्, ‘हामीलाई पनि समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । अब चुप लाग्ने होइन, आवाज उठाउने बेला आएको छ ।’

कार्यक्रमबारे जानकारी दिँदै दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले प्रत्येक वडामा पाँच–पाँच जना एकल महिलालाई अगुवा बनाएर टोली गठन गरिएको बताए । उनका अनुसार र्‍यालीको उद्देश्य सामाजिक सुरक्षा भत्ता, वृद्धभत्ता र सरकारी सेवामा एकल महिलाको समन्वय र पहुँच सुनिश्चित गर्नु हो ।

र्‍यालीमार्फत महिलाहरूले सामाजिक समानता, आत्मसम्मान र अधिकारका पक्षमा सशक्त सन्देश दिएका छन् । आयोजकले भविष्यमा थप कार्यक्रमहरू पनि सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।