जनकपुरमा करिव १ करोडको सडक ‘असारे रफ्तार’मा एकैदिनमा सकियो!

जनकपुरधाम, २४ असार । जनकपुरधाम उपमहानगरपालिका–२ स्थित सोना महारानी सडकको निर्माण कार्य मंगलबार एकैदिनमा सम्पन्न गरिएको पाइएको छ ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन जनकपुरमार्फत ९९ लाख ८२ हजार ६७३ रुपैयाँको लागतमा निर्माण गरिएको सो सडक मंगलबार एकैदिनमा धमाधम ‘सम्पन्न’ गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार ‘रोड अपग्रेडिङ एलङ्ग जनकपुरधाम उपमहानगरपालिका–२, सोना महारानी सडक’ आयोजनाको ठेक्का रमेश कन्स्ट्रक्सन प्रा.लि. जनकपुर–१ ले पाएको थियो ।
सम्झौता २०८१ साल असोज २१ गते गरिएको भए पनि सडक निर्माण कार्य सम्पन्न भएको मिति २०८२ साल बैशाख ३० गते उल्लेख गरिएको छ । तर,बैशाखमै सम्पन्न गर्नुपर्ने काम म्याद सकिसकेपनि असारको अन्तिम भुक्तानीका दिन धमाधम सम्पन्न गरिएको हो ।

काम देखेर स्थानीय बासिन्दाहरू आक्रोशित छन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘हामीले सडकमा काम भएको देखेका छैनौं । गिट्टी फालिएको थियो । केही भागमा रोलर चलाइएको थियो । तर, त्यसयता कुनै प्रगति छैन । अब कागजमा ‘पूर्ण रूपमा सम्पन्न’ भनेर देखाइएको छ । यो त ठेकेदार र सम्बन्धित निकायको मिलेमतो हो ।’
अर्का एक स्थानीयले भने, ‘गर्मी र पानीको समयमा यस्तो झुठा काम देखाएर बजेट सकिएको देखाउने काम मधेशमा सामान्यजस्तै भएको छ । सडक त निर्माण हुने नाममै छैन, धुलो र पानीले सास्ती दिएको छ ।’

९९ लाख ८२ हजार ६७३ रुपैयाँ ६८ पैसाको ठेक्का रकम (भ्याट र पिएस सहित) स्वीकृत गरिएको उक्त आयोजनाको अनुगमन र सार्वजनिक सुनुवाइ नभएको स्थानीयको गुनासो छ । ठेकेदार र सम्बन्धित सरकारी निकायले एकअर्कालाई ढाकछोप गर्दै कागजी रुपमा प्रगति देखाए पनि सार्वजनिक अवलोकनमा सडकको अवस्था उस्तै रहेको देखिन्छ ।

सडक डिभिजन जनकपुरका प्राविधिक पक्षले भने यसबारे प्रतिक्रिया दिएका छैनन् । उता, जनकपुरधाम उपमहानगरपालिकाले यो सडकको निर्माण कार्यमा आफ्नो संलग्नता नभएको बताएको छ । प्रदेश तथा संघीय सरकारले वर्षको अन्त्यमा बजेट सक्नुपर्ने बाध्यताको नाममा असार महिनामा विकास कार्यको देखावटी हतारले यस्तो अवस्था आएको स्थानीयहरू बताउँछन् ।

जनकपुरधाममा यस्तो ‘असारे विकास’ वर्षेनी दोहोरिने समस्या बनिसकेको छ । बजेट सकाउने मानसिकता र ठेकेदार–सरकारी निकायको गठबन्धनले योजनालाई कागजमा सम्पन्न देखाएर जनताको आँखामा धुलो हाल्ने गरेको आरोप आम नागरिकले लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


