जनकपुरधाम, २४ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहरूले असहमति जनाएका छन् ।

‘राइट्स क्लिनिक’को आयोजनामा मंगलबार जनकपुरधाममा आयोजित ‘बजेट संवाद’ कार्यक्रममा सहभागी सांसदहरूले बजेटलाई असन्तुलित, अव्यवहारिक र जनअपेक्षाविपरीत भएको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसदहरूले सरकारको एक लाख नागरिकलाई रोजगारी दिने घोषणा व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठाए । उनीहरूले भौतिक पूर्वाधारमा मात्रै ४० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको भए पनि कृषि, पर्यटन र उद्योगजस्ता समृद्धिका मुख्य आधारहरूमा न्यून बजेट छुट्याइएको भन्दै आलोचना गरे ।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विमला अन्सारीले बजेट बिचौलियाको प्रभावमा बनेको आरोप लगाउँदै भनिन्, ‘यो बजेट घाटामुखी मात्र नभई समग्रमा त्रुटिपूर्ण र असमान ढंगले बाँडिएको छ ।’

त्यस्तै, सांसद रामअशिष यादवले सामूहिक कृषि प्रणाली, पर्यटकीय पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्य र रोजगार सिर्जनामा केन्द्रित बजेटको खाँचो औंल्याए । उनले सूचना र सहभागिताविना तयार गरिएको बजेटलाई जनमुखी ठहर गर्न नसकिने जिकिर गरे ।

कार्यक्रममा सहभागी सांसदहरूले बजेटको पुनर्लेखन र प्राथमिकता पुनःनिर्धारण गर्न सरकारलाई आग्रह गर्दै यथास्थितिमा बजेट अगाडि बढ्न नसक्ने बताए ।