मधेशमा गम्भीर जलसंकट, लोसपाले उठायो सवाल

जनकपुरधाम, २४ असार । मधेश प्रदेशमा अनावृष्टिका कारण गम्भीर जलसंकट सिर्जना भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसँग तत्काल राहत र पानी व्यवस्थापनको माग गरेको छ ।
लोसपाको मधेश प्रदेश कार्यालय जनकपुरधामबाट मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा बारा, पर्सा लगायतका जिल्लामा पानीको सतह लगातार तल झर्दै गएको जनाइएको छ । उक्त क्षेत्रका अधिकांश चापाकल, इनार, कुवा सुकिसकेकाले सर्वसाधारणलाई खानेपानीको भीषण अभाव भएको उल्लेख गरिएको छ ।
पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पानीको सतह तल झरेसँगै सम्पूर्ण कृषि क्षेत्र नै सुख्खाग्रस्त बन्ने निश्चित प्रायः छ । जनमानसमा खानेपानीको हाहाकार भएको वर्तमान अवस्थामा सरकारले तिनै तहबाट समन्वय गरी आपतकालीन राहत व्यवस्था गर्नुपर्छ ।’

लोसपाले कृषि उत्पादनमा पर्ने असर, जनस्वास्थ्यमा देखिन सक्ने जोखिम र जनजीवन अस्तव्यस्त बनाउने सम्भावनालाई मध्यनजर गर्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ ।
साथै, पार्टीले सरकारलाई विपद् व्यवस्थापन संयन्त्रहरू सक्रिय पार्दै मधेशमा देखिएको संकटलाई ‘जल–आपतकाल’ को रूपमा लिएर तुरुन्त नीतिगत र कार्यान्वयनगत पहल गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


