जनकपुरधाम, २४ असार । धनुषामा होटल तथा पर्यटन व्यवसायी महासंघको नयाँ कार्यसमिति गठन गरिएको छ ।

महासंघको अध्यक्षमा व्यवसायी रूपेश सिंह चयन भएका छन् । नयाँ कार्यसमितिले आगामी कार्यकालका लागि औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ ।

सिंहको नेतृत्वमा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष गुप्ता, महिला उपाध्यक्षमा सीता चौहान, उपाध्यक्षमा अनिकेत रुङटा, महासचिवमा गौतम साह, सचिवमा सुनिल साह र कोषाध्यक्षमा अमित ठाकुर चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा रवि गुप्ता, विनय साह, भरत महासेठ, मुकुन्द अधिकारी, शिवनाथ पण्डित, सुनैना ठाकुर र अमित मिश्रा रहेका छन् ।

नवनियुक्त अध्यक्ष सिंहले जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वसामु चिनाउन पर्यटन व्यवसायीबीच व्यावसायिक एकता र सहकार्य अपरिहार्य भएको बताए ।

‘गुणस्तरीय सेवा, लगानीमैत्री वातावरण र दीर्घकालीन योजनाको कार्यान्वयनमार्फत जनकपुरधामलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष सिंहले प्रतिबद्धता जनाए । उनले स्थानीय सरकारसँग सहकार्य गर्दै पूर्वाधार निर्माण, सरसफाइ, प्रचारप्रसार र सुरक्षा व्यवस्थामा महासंघले अग्रसर भूमिका खेल्ने बताएका छन् ।

नयाँ नेतृत्व चयनसँगै जनकपुरधामका पर्यटन व्यवसायीहरूमा नयाँ ऊर्जा थपिएको छ । धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा जनकपुरधामको विकाससँगै होटल तथा पर्यटन सेवा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउन महासंघले निर्णायक भूमिका खेल्ने विश्वास गरिएको छ ।