जनकपुरधाम, २२ असार । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले शनिबार आयोजना गरेको ‘मधेश पर्यटन सांस्कृतिक साँझ’ कार्यक्रमको कार्यान्वयनमा प्रश्न खडा गरेको छ ।

कार्यक्रममा दशकौँदेखि कला, संगीत र साहित्यमा योगदान दिँदै आएका मौलिक र संघर्षशील स्थानीय कलाकारलाई उपेक्षा गरी सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहेका केही टिकटक प्रयोगकर्तालाई प्रमुख रूपमा प्रस्तुत गरिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

सांस्कृतिक अभियन्ता तथा स्थानीय समुदायले कार्यक्रमको नाम ‘सांस्कृतिक साँझ’ राखिए पनि त्यसले मधेशको वास्तविक सांस्कृतिक गहिराइलाई प्रतिनिधित्व नगरेको आरोप लगाएका छन् ।

‘टिकटक मनोरञ्जनको माध्यम हो । तर, त्यही माध्यमका आधारमा संस्कृतिको मापन गर्नु अन्याय हो,’ एक वरिष्ठ कलाकारले भने, ‘हामी आधुनिकता विरोधी होइनौं । तर, आफ्नो जरा र पहिचानलाई बिर्सन मिल्दैन ।’

कार्यक्रममा मधेशको लोक परम्परा, लोक भाका र कला परम्परालाई जीवनभर सम्हाल्दै आएका वृद्ध लोकगायक, पारम्परिक नृत्यकार, साहित्यकार तथा मौलिक कलाकारहरूलाई बेवास्ता गरिँदा उनीहरूको योगदान ओझेलमा परेको भन्दै कलाकारहरूले असन्तुष्टि जनाएका छन् ।

‘हामी फूलमालामा होइन, पहिचानमा विश्वास गर्छौं,’ एक महिला लोकनृत्य प्रशिक्षकले भनिन्, ‘राज्य संरचनाले नै हामीजस्ता जमीनी कलाकारलाई नजरअन्दाज गर्न थाल्छ भने त्यो अपमान मात्र नभई संस्कृतिको अवमूल्यन पनि हो ।’

यस विषयमा सामाजिक सञ्जालमा पनि विरोधको स्वर चर्किएको छ । धेरैले यस कार्यक्रमलाई ‘सांस्कृतिक साँझ नभई संस्कृतिको सौदा’ भन्दै विरोध जनाएका छन् ।