न्यायको माग गर्नेलाई थुन्ने रवैया लोकतन्त्रको अपमान होः राष्ट्रिय एकता अभियान

जनकपुरधाम, २२ असार । राष्ट्रिय एकता अभियान, नेपालले आफ्ना दुई शीर्ष नेता मनीष हिन्दू (पूर्वे) र जीतेन्द्र दासलाई धनुषाबाट बिनाकारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ ।
अभियानले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यो गिरफ्तारीलाई लोकतान्त्रिक मूल्य मान्यता, नागरिक स्वतन्त्रता र मानव अधिकारमाथिको गम्भीर उल्लङ्घनको संज्ञा दिएको छ ।
‘हाम्रा नेताहरू राष्ट्रहितमा समर्पित रहेर शान्तिपूर्ण ढंगमा अभियान सञ्चालन गरिरहेका थिए । यस्तो अवस्थामा उनीहरूलाई बिनाकारण नियन्त्रणमा लिनु अलोकतान्त्रिक मात्र नभई मानव अधिकारको समेत अपमान हो,’ विज्ञप्तिमा उल्लेख छ ।
अभियानले यो घटनालाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने संवैधानिक अधिकारमाथि राज्यबाट गरिएको प्रहारको रूपमा व्याख्या गर्दै २४ घण्टाभित्र बिना सर्त रिहाइको माग गरेको थियो । साथै, रिहाइ नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको थियो ।
राष्ट्रिय एकता अभियानले विगत केही वर्षदेखि नेपालमा विदेशी हस्तक्षेप, धार्मिक अतिवाद र सामाजिक विघटनविरुद्ध राष्ट्रवादी विचार बोकेर अभियान चलाउँदै आएको छ । यस्तै संवेदनशील घडीमा अगुवा नेताहरूलाई पक्राउ गर्नु ‘नियोजित दमन र फासीवादी प्रवृत्तिको पराकाष्ठा’ भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘के सरकारले आलोचनात्मक आवाज दबाएर शान्ति स्थापनाको भ्रम सिर्जना गर्न खोजेको हो?’ भन्दै अभियानले नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारमाध्यम र जनप्रतिनिधिहरूलाई अन्यायविरुद्ध ऐक्यबद्ध हुन आह्वान गरेको छ ।
यसैबीच, प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुबै नेताहरूलाई आइतबार साँझ नै रिहा गरिएको छ । यद्यपि, प्रहरीले पक्राउको स्पष्ट कारण भने सार्वजनिक गरेको छैन । अभियानले रिहाइलाई स्वागत गरे पनि घटनामाथि सम्पूर्ण अनुसन्धान र जवाफदेहिता माग गर्दै संघर्ष जारी राख्ने चेतावनी दिएको छ ।

