शहीद परिवारको शान्तिपूर्ण धर्नामाथि बल प्रयोग, ६ जना पक्राउ

जनकपुरधाम, २२ असार । मधेश आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको परिवारले आफ्ना माग पुरा गर्न दबाब दिँदै शान्तिपूर्ण धर्ना गरिरहेकै बेला प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
आइतबार मधेश भवन गेटमा धर्नामा बसेका प्रदर्शनकारीलाई प्रहरीले लछारपछार गर्दै गिरफ्तार गरेको हो ।
शहीद परिवारले मधेशी शहीद प्रतिष्ठानमा सदस्यको तत्काल नियुक्ति, शहीद परिवारलाई स्वास्थ्य बीमा, एक परिवार एक रोजगार र शिक्षा क्षेत्रमा छात्रवृत्तिको सुनिश्चितता लगायत चार बुँदे माग राख्दै आन्दोलन थालेका थिए ।
‘सरकारले पटकपटक गरेका सहमति कार्यान्वयनमा ध्यान नदिएपछि हामी धर्नामा बस्न बाध्य भयौं । तर, उल्टै प्रहरीले बल प्रयोग गर्यो,’ शहीद अभदेश प्रसाद पटेलकी छोरी सिम्पी साहले बताइन् ।
उनका अनुसार प्रहरीले अभदेश प्रसाद पटेल, उपेन्द्र ठाकुर, अरमान राईन, लक्ष्मण रजक, विजय राय र निरसिया देवीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ ।
शहीद परिवारले वर्तमान मधेश सरकारमाथि आरोप लगाउँदै आन्दोलनरत परिवारप्रति पनि असंवेदनशील व्यवहार देखाएको गुनासो गरेका छन् । उनीहरूले गृहमन्त्री राजकुमार लेखी नेतृत्वको गृह मन्त्रालयले अघिल्ला सरकारले दिँदै आएका सेवा–सुविधामा समेत कटौती गर्न थालेको आरोप लगाए ।
शहीद परिवारहरूले आफूहरूलाई न्याय नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन् ।

