जनकपुरधाम, २२ असार । मधेश प्रदेशसभा सदस्य हसिना खातुनले पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख विजय कुमार यादवमाथि सांसद विकास कोषअन्तर्गतको योजना ‘बिक्री’ गरेको आरोप लगाएकी छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा खातुनले आफूले सिफारिस गरेका योजनामध्ये एक योजनाको जानकारी नदिई योजनाको रकम दुरुपयोग गरिएको दाबी गरिन् ।

उनका अनुसार गोडैता नगरपालिका–१० स्थित सिसोटिया झगरु चौकदेखि सुन्दरपुरसम्मको सडक स्तरोन्नति कार्यका लागि सांसद विकास कोषबाट ३५ लाख रुपैयाँ बराबरको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने गरी प्रक्रियामा थियो । ‘योजनासम्बन्धी पत्र मेरोमा छ, म उपभोक्ता समिति गठनका लागि कार्यालयसम्म पुगेकी थिएँ,’ खातुनले भनिन्, ‘तर, योजना दुई दिनअघि नै सम्पन्न भइसकेको भन्ने सूचना पाएपछि म अचम्ममा परेँ ।’

खातुनले सोबारे प्रमुख यादवसँग सम्पर्क गर्न खोज्दा उनले भेटघाट गर्न नमानेको र पछि सम्पर्कमा समेत नआएको बताइन् । ‘सांसदकै सिफारिसमा आएको योजना कसरी जानकारी बिना बिक्री गरियो भन्ने प्रश्न अझै अनुत्तरित छ,’ खातुनको गुनासो थियो ।

यस विषयमा खातुनले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जानकारी गराइसकेको बताउँदै मुख्यमन्त्रीले सांसदको योजना सम्बन्धित सांसदकै स्वीकृति बिना अघि नबढाउन निर्देशन दिइसकेको जानकारी दिइन् । साथै, मुख्यमन्त्री सिंहले प्रमुख यादवसँग स्पष्टिकरण माग्ने आश्वासन दिएको खातुनले बताइन् ।

उनले घटनाबारे जनमत पार्टी संसदीय दलका नेता महेश यादवलाई पनि जानकारी गराएकी छन् । नेता यादवले घटनाको सत्यतथ्य जनसमक्ष ल्याउन र कानुनी प्रक्रियामा जान सुझाएको खातुनले उल्लेख गरिन् ।

सांसद खातुनका अनुसार आफ्नो सिफारिसमा रहेका पाँचमध्ये चारवटा योजना सफलतापूर्वक सम्पन्न भए पनि बाँकी एक योजना योजनाबिना जानकारी र स्वीकृति कसरी ‘बिक्री’ गरियो भन्ने प्रश्न अझै समाधान हुन बाँकी छ ।

पूर्वाधार विकास कार्यालय सर्लाही यसअघि पनि विभिन्न अनियमितता र विवादमा तानिँदै आएको छ । केही समयअघि सोही कार्यालयका कारण जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीच चर्किएको विवाद सेलाउन नपाउँदै प्रमुख यादव फेरि अर्को विवादमा मुछिएका छन् ।