सर्लाही, २२ असार । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले आफूविरुद्ध प्रहरीले लगाएको ‘फरार अभियुक्त’ को आरोप अस्वीकार गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत लाइभ सार्वजनिक गर्दै यादवले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको दाबी गरेका हुन् ।

आफू कुनै आपराधिक गतिविधिमा संलग्न नरहेको स्पष्ट गर्दै उनले भने, ‘भ्रष्टाचार, बेथिति र लुटतन्त्रविरुद्ध बोलेको छु, त्यसैले मलाई अपराधी बनाइँदैछ । यदि जनताको पक्षमा बोल्नु अपराध हो भने म सय वटा मुद्दा सामना गर्न तयार छु ।’

यादवमाथि सर्लाही प्रहरीले सार्वजनिक सेवामा बाधा पुर्याएको र राजनीतिक उपद्रव गरेको आरोपमा दुई वटा फरक मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जनाएको छ । तर, अध्यक्ष यादवले ती सबै आरोपहरू अस्वीकार गर्दै आफूलाई निष्कासित गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।

फेसबुक लाइभमा यादवले केही दिनअघि प्रहरी टोलीले रातिको समयमा डाँका शैलीमा उनको घरमा छापा मारेको र सो क्रममा उनको छोरामाथि कुटपिट गरिएको आरोपसमेत लगाए । ‘मेरो छोराको घाँटीको नसासमेत च्यापिएको छ । अहिले उसको उपचारमै व्यस्त छु,’ यादवले भने ।

लाइभमा उनले सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगको अश्लील अडियोबारे स्पष्टिकरण दिंदै भने, ‘गाली मैले होइन, एसपीले सुरुमा गरेपछि प्रतिक्रिया स्वरूप मात्र बोलेको हुँ ।’

यादवले आफूमाथि अनावश्यक रूपमा मुद्दा दर्ता गरिएको र चाँडै सर्लाही फर्किएर सबै सत्यतथ्य सार्वजनिक गर्ने बताएका छन् । साथै, उनले सर्वसाधारणलाई अन्यायविरुद्ध एकजुट भएर आवाज उठाउन र आवश्यक परे सडकमा उत्रन पनि आह्वान गरेका छन् ।

उनले भने, ’म जनताको आवाज उठाउने एक सामान्य नेता हुँ, मलाई धम्क्याएर चुप लगाउने प्रयास विफल हुनेछ ।‘