महोत्तरी, २२ असार । महोत्तरीको औरही नगरपालिका–७ भोइल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको क्रममा एक मजदुरको ११ हजार भोल्टको विद्युत् तार खस्दा करेन्ट लागेर ज्यान गएको छ ।

ज्यान गुमाउने मजदुर रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ३२ वर्षीय छटु मुखिया रहेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।

स्थानीय रोशन यादवका अनुसार छटुको घटनास्थलमै मृत्यु भएको हो । उनी कलभर्ट निर्माणमा संलग्न अन्य मजदुरहरूसँग काम गरिरहेका बेला अचानक माथिबाट चुँडिएको उच्च भोल्टेजको तार उनको शरीरमा खसेको थियो ।

घटनापछि इलाका प्रहरी कार्यालय औरहीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरू गरेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीका अनुसार घटना विद्युत् लाइन चुँडिनुका कारण भएको देखिएको छ ।

यता स्थानीयवासीले भने नेपाल विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार उच्च भोल्टेजको तार जीर्ण अवस्थामा रहेको र कुनै पूर्वसूचना वा सुरक्षात्मक उपायबिना निर्माण स्थलमाथिबाट गुज्रिरहेकाले दुर्घटना निम्तिएको हो ।

स्थानीय सरकार र सरोकारवाला निकायले घटनाको गम्भीरता बुझेको र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि छानबिनको माग भइरहेको छ । मृतक छटु मुखिया परिवारका एकमात्र कमाउने सदस्य भएको जनाइएको छ ।