जनकपुरधाम, २२ असार । यातायात व्यवस्था कार्यालय जनकपुरधामका मेकानिकल इन्जिनियर रामानन्द साहमाथि एम्बुलेन्स जाँचपासका क्रममा घुस मागेको आरोप लागेपछि प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ ।

एम्बुलेन्स चालक संघ मधेशका अध्यक्ष महाशंकर ठाकुरले श्रम तथा यातायात मन्त्री कौशल किशोर यादवसमक्ष आइतबार दिएको उजुरीपछि इन्जिनियर साहलाई तत्काल फिर्ता बोलाइएको छ । मन्त्री यादवले इन्जिनियर साहलाई प्राथमिक अनुसन्धानका लागि जनकपुरधामस्थित पदबाट हटाएर मन्त्रालय फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

अध्यक्ष ठाकुरका अनुसार असार १६ गते एम्बुलेन्सको जाँचपास तथा प्रदूषण प्रमाणपत्र प्रक्रियाका लागि कार्यालय गएका बेला इन्जिनियर साहले एक हजार रुपैयाँ घुस माग गरेका थिए । ठाकुरले घुस माग्ने घटनाबारे तत्काल कार्यालय प्रमुखलाई जानकारी गराए पनि कारबाही गर्नुको सट्टा आफूलाई नै धम्की दिने शैलीमा चेतावनीसहितको विज्ञप्ति निकालिएको आरोप लगाए ।

‘घटना कार्यालयमै चर्काचर्कीसँगै भयो । तर, दोषी इन्जिनियरलाई कारबाही गर्ने सट्टा मलाई नै दबाब दिने प्रयास गरियो,’ ठाकुरले भने, ‘यस्ता व्यवहारले सेवाग्राहीको अधिकार कुण्ठित हुन्छ । भ्रष्टाचार झनै संस्थागत हुने खतरा बढ्छ ।’

मन्त्री यादवले उजुरीलाई गम्भीर रूपमा लिँदै दोषी प्रमाणित भएमा कानुनी कारबाही अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।