‘मधेश लुट्न आएको’ आरोपपछि नेता यादवविरुद्ध पक्राउ पूर्जी

सर्लाही, २० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ ।
प्रहरी प्रमुख एसपी योगेन्द्र खड्कासँगको टेलिफोन संवादमा अपशब्द प्रयोग गर्दै धम्की दिएको आरोपमा यादवमाथि ’आपराधिक उपद्रव’ सम्बन्धी मुद्दा दर्ता गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एसपी खड्कामाथि अशोभनीय गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि सो प्रकरणले राष्ट्रिय स्तरमै तरंग ल्याएको छ । त्यसपछि जिल्ला प्रहरीले यादवमाथि मुद्दा दर्ता गर्दै उनलाई खोजी कार्य अघि बढाएको हो ।
डिएसपी सरोज राईका अनुसार अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बिहीबार राति यादवलाई नियन्त्रणमा लिन प्रहरी टोली उनको निवासमा पुगेको थियो । तर, यादवका परिवारजन तथा समर्थकहरूको प्रतिरोधका कारण उनलाई पक्राउ गर्न नसकिएको र स्थिति तनावपूर्ण भएपछि प्रहरी फिर्ता भएको उनले जानकारी दिए । यसक्रममा प्रहरीको गाडीमा समेत तोडफोड भएको पुष्टि गरिएको छ ।
भाइरल अडियोमा सर्लाहीको पूर्वाधार कार्यालयसँग जोडिएको विषयमा नेता यादवले एसपी खड्कामाथि भ्रष्टाचार र गैरकानुनी असुलीको आरोप लगाउँदै ‘तिमीहरू मधेशमा लुट्न आएको’ भनी आरोप लगाएका छन् । संवादका क्रममा एसपी खड्काले संयमित रूपमा प्रतिक्रिया दिँदै शान्त वार्ताको प्रयास गरे पनि यादवको भाषाशैली निरन्तर आक्रोशपूर्ण रह्यो ।
सत्तारूढ दल जसपाका मधेश प्रदेश अध्यक्षसमेत रहेका यादवविरुद्ध कानुनी प्रक्रिया अघि बढेसँगै सर्लाहीको राजनीतिक वृत्तमा ठूलो तरंग आएको छ । कानुनी र राजनीतिक दुवै तहमा यो प्रकरणले चासो बढाएको छ । अब सार्वजनिक पदमा रहेका दुई व्यक्तिबीचको विवादले कानुनी मोड कुन दिशातर्फ लिन्छ भन्नेमा निगरानी तीव्र भएको छ ।
यस प्रकरणले प्रशासन र राजनीतिबीचको सम्बन्ध, जवाफदेहिता र सीमारेखाको बहससमेत चुलिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


