महोत्तरी, २० असार । महोत्तरी जिल्लामा लामो समयदेखि प्रतीक्षित लालपुर्जा (जग्गाधनी प्रमाण–पत्र) वितरण अभियान तीव्र बनेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म जिल्लाका १ हजारभन्दा बढी घरपरिवारले आफ्नो नाममा लालपुर्जा प्राप्त गरेका छन् ।

नापी कार्यालय महोत्तरीले असार महिनाभरि विशेष अभियान चलाउँदै वितरण प्रक्रिया तीव्र बनाएको हो । कार्यालयका प्रमुख नापी अधिकृत रामविनयकुमार सिंहका अनुसार चालु आर्थिक वर्षमा १५ वटा पूर्व गाविस क्षेत्रमा लालपुर्जा वितरण गर्ने लक्ष्य लिइएकोमा हालसम्म १२ वटामा काम सम्पन्न भइसकेको छ भने बाँकी ३ वटामा असार मसान्तभित्रै वितरण गरिनेछ ।

जिल्लाको रामनगर, भरतपुर, बर्दिवास, वैरगिया–लक्ष्मीनिया, सरपल्लो, पडौल, बेलगाछी, फुलहट्टा, परिकौली लगायतका क्षेत्रमा पहिले नै वितरण सम्पन्न भइसकेको छ । पछिल्ला दिनमा पिगौना (जलेश्वर–१२), महोत्तरी गाउँपालिका–१ र २, बलवा नगरपालिका–१० धमौरा बस्तीमा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

पिगौनामा आयोजित कार्यक्रममा जलेश्वर नगरप्रमुख सुरेश साह सोनारको उपस्थितिमा १६० घरधुरीलाई लालपुर्जा हस्तान्तरण गरिएको थियो । उनले दशकौंको पर्खाइ समाप्त भई नागरिकमा कानुनी सुरक्षा र आत्मविश्वास बढेको धारणा राखे ।

त्यसैगरी, महोत्तरी गाउँपालिका–१ का २४९ र वडा नं. २ का १४८ जग्गाधनीलाई गाउँपालिका अध्यक्ष दिलीप पाण्डेयले लालपुर्जा हस्तान्तरण गरे । उनले वि.सं. २०६९ सालदेखि रोकिएको अभिलेखिकरण प्रक्रिया अन्ततः तीन दशकपछि टुंगोमा पुगेको बताए ।

बलवा–१० धमौरामा १६० घरधुरीले लालपुर्जा प्राप्त गरे । नगरप्रमुख रामविजय महतोले यसलाई केवल कागजी स्वामित्व नभई गरिबी निवारण र अधिकार प्राप्तिको ठोस आधार भएको उल्लेख गरे ।

नापी टोली प्रमुख सर्फुदिन अन्सारीले लालपुर्जा वितरण प्रक्रिया लामो र सावधानीपूर्ण हुने भएकाले ढिलाइ हुने भए पनि निष्कर्षमा पुग्न लागेको बताए । अब बाँकी रहेका सिमरदही, मझौरा र हत्तिसर्वा क्षेत्रका केही वडामा लालपुर्जा वितरणको तयारी पूरा भएको र १० दिनभित्र वितरण सम्पन्न हुने नापी अधिकृत सिंहले जानकारी दिए ।

स्थानीय सरकार र नापी कार्यालयको समन्वयमा सञ्चालन भइरहेको यो अभियानले नागरिकको दीर्घकालीन भूमि अधिकार सुनिश्चित गर्न सहयोग पुगेको जनाइएको छ ।