जनकपुरधाममा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

जनकपुरधाम, २० असार । जनकपुरधामस्थित ज्ञानकुप स्कूलमा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका र कक्षा ८, ९ र १० का विद्यार्थीसहित करिब १५० जना सहभागी थिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा मानसिक स्वास्थ्य, आत्महत्या न्यूनीकरणका उपाय, समयमै परामर्शको आवश्यकता र सकारात्मक सोचको विकासका विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रम बिहान ८ः३० बजे सुरु भई ११ बजे सम्पन्न भएको थियो । आयोजक मन्त्रालयका अनुसार आत्महत्या न्यूनीकरण जस्तो संवेदनशील विषयमा विद्यालयस्तरबाटै जनचेतना फैलाउनु अत्यन्त जरुरी भएकोले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
कार्यक्रमले विद्यार्थी र शिक्षकहरूमा सहयोगी वातावरण सिर्जना गर्ने र मानसिक स्वास्थ्यप्रति संवेदनशील बनाउने उद्देश्य राखेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


