धनौजी गाउँपालिकामा तीनदिने शिक्षक तालिम सुरु


जनकपुरधाम, २० असार । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा विद्यालयस्तरको सूचना व्यवस्थापन प्रणाली र अपांगता पहिचान विषयमा केन्द्रित तीनदिने क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष राजकुमार साहले गरेका हुन् । गाउँपालिकाभित्रका १७ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको तालिममा विद्यालय व्यवस्थापन, डाटा अद्यावधिक र समावेशी शिक्षा प्रणालीमा जोड दिइएको छ ।
उद्घाटन सत्रमा बोल्दै अध्यक्ष साहले शिक्षकहरूलाई राष्ट्र निर्माणको आधार स्तम्भको रूपमा चित्रण गर्दै बालबालिकाको भविष्य उज्वल बनाउन इमानदारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे । ‘शिक्षकप्रतिको विश्वासका आधारमा अभिभावकले आफ्ना सन्तान विद्यालय पठाउँछन्,’ अध्यक्ष साहले भने, ‘त्यसैले त्यो विश्वासको सम्मान गर्दै शिक्षण कार्यमा समर्पित हुनु आवश्यक छ ।’
तालिमका प्रमुख प्रशिक्षक भक्तराम सिजालीले सूचना व्यवस्थापन प्रणालीको प्रयोग, विद्यालयसम्बन्धी डाटाको सही व्यवस्थापन र अपांगता पहिचानका व्यवहारिक पक्षमा आधारित प्रशिक्षण प्रदान गरिने जानकारी दिए ।
शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पालिकाका शिक्षा शाखा प्रमुख विजय कुमार मण्डलले तालिमको उद्देश्य प्रष्ट पार्दै विद्यालयका शैक्षिक, भौतिक तथा विद्यार्थीसम्बन्धी सम्पूर्ण विवरण अद्यावधिक राख्न शिक्षकको दक्षता आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र स्थानीय शिक्षा सरोकारवालाहरूको उपस्थिति थियो । तीन दिनसम्म चल्ने तालिमपछि सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
