जनकपुरधाम, २० असार । कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्यले धनुषाको सबैला नगरपालिकाले तीनवटा अत्याधुनिक कृषि यन्त्र खरिद गरेको छ ।

कृषकलाई प्रविधिमैत्री कृषि प्रणालीमा लैजाने रणनीति अनुरूप रिपर मेसिन, जिरो टिलर र मलचर मेसिन खरिद गरिएको हो । नगरपालिकाका अनुसार यी यन्त्रहरू छिट्टै किसानलाई न्यूनतम भाडादरमा उपलब्ध गराइनेछ ।

नगर प्रमुख कारीराम यादवले कार्यपालिकाको बैठकमार्फत भाडादर तोक्ने तयारी भइरहेको जानकारी दिँदै किसानको लागत घटाउने र कृषि प्रणालीलाई प्रविधिमा आधारित बनाउने यो पहल ‘व्यवसायिक कृषिको दिशा’ मा ठोस कदम भएको बताए ।

रिपर मेसिनको प्रयोगले धान, गहुँजस्ता अन्नबाली सजिलै र छिटो काट्न सकिने छ । परम्परागत श्रमप्रधान कटाई प्रणालीको सट्टा आधुनिक प्रविधिको प्रयोगबाट समय, श्रम र खर्च तीनै घट्ने नगर कृषि शाखाले जनाएको छ । जिरो टिलर मेसिनमार्फत किसानले खेत जोत्नैपर्ने झन्झटबिना सिधै बीउ छर्न सक्नेछन् । यसले रोपाइँको आवश्यकता हटाउनेछ ।

यसले गर्दा पानी व्यवस्थापन, जनशक्ति अभाव र खेतीको ढिलाइबाट मुक्ति पाउने विश्वास गरिएको छ । मलचर मेसिनले धानको फसलपछिको अवशेषलाई नै जैविक मलमा रूपान्तरण गर्दै सोही स्थानमा गहुँ खेती गर्न सजिलो बनाउनेछ । झारपात नियन्त्रणमा सहयोग पु¥याउनुका साथै खेत दोहोरो जोत्न नपर्ने हुँदा समय र लागत दुवैको बचत हुने प्राविधिकहरूको भनाइ छ ।

नगरप्रमुख यादवले किसानलाई प्रविधियुक्त कृषि प्रणालीमा जोड्दै उनीहरूको जीवनशैलीमा सुधार ल्याउने दीर्घकालीन लक्ष्य रहेको बताए । ‘अब किसानले बीउ छर्नेदेखि फसल संकलनसम्मको सम्पूर्ण प्रक्रिया छिटो, सस्तो र सहज बनाउन सक्नेछन्,’ उनले भने ।

स्थानीय कृषकहरूले नगरपालिकाको यो प्रयासको स्वागत गरेका छन् । उनीहरूले आधुनिक यन्त्रबाट काम छिटो, सस्तो र सहज हुने भन्दै कृषि व्यवसायमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरेका छन् ।

नगरपालिकाले प्रविधिमा आधारित कृषि प्रणालीलाई संस्थागत गर्दै कृषकलाई आवश्यक तालिम र प्राविधिक सहयोग पनि निरन्तर उपलब्ध गराउने योजना बनाएको छ । यो पहलले सबैलालाई कृषि रूपान्तरणतर्फ अग्रसर नगरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।