महोत्तरी, २० असार । महोत्तरीको मनराशिसवा नगरपालिका–८ स्थित सरपल्लो झिंगास्थानमा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

वडाध्यक्ष रामनाथ सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य दीपक झा ‘गुड्डु’ प्रमुख अतिथि थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाभित्रका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाइ सम्मान गरियो । वडाध्यक्ष सहनीले समाजको सद्भाव, संस्कार र योगदानको सम्मानस्वरूप यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रमुख अतिथि झाले ज्येष्ठ नागरिकहरूलाई समाजका आधारशिला भन्दै उनीहरूका जीवन–अनुभव र विचारबाट नयाँ पुस्ताले मार्गदर्शन लिनुपर्नेमा जोड दिए । उनले यस्ता सम्मान कार्यक्रमहरूले सामाजिक एकता र मूल्य–मान्यता प्रवद्र्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।