रौतहट, १९ असार । रौतहटको सदरमुकाम गौरमा सशस्त्र प्रहरीले स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने व्यक्ति राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी जितेन्द्र राउत रहेको पुष्टि भएको छ ।

भारतबाट नेपालतर्फ बीआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतलाई गौर भन्सार रोडमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नम्बर ११ गण हजमिनियाका अनुसार राउतले हेलमेटभित्र लुकाइ राखेको अवस्थामा दुई लाख पचास हजार रुपैयाँ बरामद गरिएको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका राउतले भारतमा रहेका आफ्ना नातेदारलाई दिएको पैसा फिर्ता ल्याउँदै गर्दा नियन्त्रणमा परेको दाबी गरेका छन् । यद्यपि, रकमको आधिकारिकता पुष्टि नभएकाले आवश्यक अनुसन्धानका लागि उनलाई सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र रकमको स्रोत पुष्टि गर्न राजस्व तथा सुरक्षा निकायबीच समन्वय भइरहेको बताइएको छ ।