महोत्तरी, १९ असार । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अल्पसंख्यक समुदायसँगको सम्बन्धलाई मजबुत बनाउन ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार जलेश्वर नगरपालिका–६ स्थित धवौली मुसहर टोलमा आयोजित कार्यक्रममा स्थानीय महिला तथा पुरुषको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली सहभागी थियो । प्रहरी चौकी भिठ्ठामोडका नायब निरीक्षक होमबहादुर भित्रीकोटीसहितको टोलीले समुदायसँग प्रत्यक्ष संवाद गर्दै समस्या र सुझावहरू सुनेको हो ।

स्थानीय वडाध्यक्ष रविन्द्र प्रसाद साहलगायत जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रममा ५३ जना स्थानीयले सक्रिय सहभागिता जनाएका थिए । संवादका क्रममा सहभागीहरूले नागरिकता नपाउने समस्या, शिक्षामा पहुँचको अभाव र विगतमा उठाइएका मुद्दाहरूको स्थायी समाधान नहुँदा निराशा बढेको गुनासो गरेका थिए ।

प्रहरी निरीक्षक चौहानले समुदायका गुनासा गम्भीरतापूर्वक सुन्दै दीर्घकालीन समाधानका लागि सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । साथै उनले घरेलु हिंसा, बालविवाह, बहुविवाह र मदिरा दुरुपयोगजस्ता सामाजिक विकृतिबाट टाढा रहन आग्रह गरे ।

कार्यक्रमबाट स्थानीय प्रशासन, सुरक्षा निकाय र अल्पसंख्यक समुदायबीच आपसी विश्वास र सहकार्यको वातावरण निर्माण हुने विश्वास लिइएको छ । स्थानीयवासीले यस्तो कार्यक्रमले आफ्नो पीडा सुनाउने सहज माध्यम प्रदान गरेको प्रतिक्रिया दिएका छन् ।