जनकपुरधाम, १९ असार । जनमत पार्टीभित्र नेतृत्व चयनलाई लिएर उत्पन्न विवाद फेरि चुलिएको छ । पार्टी अध्यक्ष डा. सीके राउतले आफ्नै दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेपछि वरिष्ठ नेता इन्जिनियर दीपककुमार साहले असन्तुष्टि जनाउँदै अध्यक्षमाथि ‘पारिवारिक सञ्जाल’मार्फत सत्ता कब्जाको आरोप लगाएका छन् ।

इ. साहले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष राउतको निर्णयले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै लेखेका छन्, ‘संस्थागत राजनीतिको नाममा अध्यक्षज्यूको परिवारवाद प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारेको छ ।’

उनका अनुसार अध्यक्ष राउतले दाजु जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाउने निर्णयले व्यक्तिगत प्राथमिकता झल्काएको छ । विज्ञप्तिमा पार्टी उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु दानबहादुर चौधरीलाई समेत उपाध्यक्ष बनाइएकोमा पनि आपत्ति जनाइएको छ। दानबहादुरमाथि अघिल्लो समयमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोप पनि लगाइएको छ ।

इ. साहले नेतृत्वमा गुटबन्दी, पूर्वाग्रही निर्णय र समर्पित नेताहरूको उपेक्षा भइरहेकाले संगठनभित्र असन्तुलन चुलिएको उल्लेख गरेका छन् । अध्यक्ष राउतले केही शीर्ष नेताहरूमाथि अनुशासनको नाममा कारबाही गर्दै संगठनबाट बाहिर धकेल्ने प्रयास गरिरहेको आरोप पनि विज्ञप्तिमा उल्लेख छ ।

साहले पार्टी नेतृत्वको शैलीमा आमूल सुधारको माग गर्दै पाँच बुँदे सुझाव पनि अघि सारेका छन् । उनले पार्टीभित्र गहिरिँदो असन्तुलनलाई तत्काल सम्बोधन नगरे गम्भीर संकट निम्तिने चेतावनी दिएका छन् ।