जनकपुरधाम, १९ असार । लोकप्रिय हास्य–व्यंग्य टेलिश्रृंखला ‘कलकतिया बाली’ की मुख्य पात्र अंशा सदाको मृत्युको विषयमा अनुसन्धानपछि प्रहरीले आत्महत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार घटनामा हालसम्म संदेह गर्नुपर्ने कुनै आधार भेटिएको छैन ।

असार १० गते राति जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित अंशा सदा बसोबास गर्दै आएको घरको कोठाभित्रै ताला लागेको अवस्थामा उनी सालको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटनापछि पोस्टमार्टमका लागि शव पठाइयो र अनुसन्धानकोक्रममा विद्युतीय उपकरणहरूसमेत जफत गरिएको थियो । पोस्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बरुण बहादुर सिंहले अंशाको मृत्यु आत्महत्या भएको पुष्टि गरे ।

यद्यपि, प्रहरीले आत्महत्याको कारण भने अझै खुल्न नसकेको बताएको छ । अनुसन्धान जारी रहेको र १० जनाभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

जफत गरिएका उपकरणबाट संदेह गर्न लायक कुनै पनि प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।

२७ वर्षीया अंशा सदा हास्य टेलिश्रृंखला ‘कलकतिया बाली’ मार्फत तराई क्षेत्रमा अत्यधिक लोकप्रिय बनेकी थिइन् । ६ महिनाअघि मात्र उनको विवाह अभिनेता अविनाश झासँग भएको थियो ।

अंशा सदाको मृत्युले कलात्मक क्षेत्रका साथै उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ । प्रहरीको भनाइअनुसार घटनाको पूर्ण पृष्ठभूमि पत्ता लगाउन थप अनुसन्धान जारी छ ।