सप्तरी, १८ असार । नेपाल पत्रकार महासंघ सप्तरीले मधेश प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको तीन तल्ले पत्रकार अतिथि गृह निर्माणमा कुनै पनि प्रकारको कमिसन नदिएको स्पष्ट पारेको छ ।

शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै शिर्ष खबर अनलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचारलाई एकतर्फी, तथ्यहिन र भ्रमपूर्ण भनेको छ ।

पत्रकार महासंघ सप्तरीका अनुसार भवन निर्माणका क्रममा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र महासंघका तत्कालीन अध्यक्ष शम्भु झाको विशेष पहलमा दुई किस्तामा गरी २५ लाख र ६० लाख गरी कुल ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

उक्त बजेटमध्ये महासंघले ७३ लाख रुपैयाँ मात्र खर्च गरेको र बाँकी झण्डै १२ लाख रुपैयाँ प्रदेश सरकारकै खातामा फिर्ता पठाइएको जानकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘भवनमा आठवटा कोठा निर्माण गरिएकामा चारवटा कोठा एट्याच बाथरुमसहित डिलक्स बनाईएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भुइँ तल्लामा पार्किङ र क्यान्टिनको व्यवस्था गरिएको छ ।’

महासंघले शिर्ष खबरमा प्रयोग गरिएको तस्वीरसमेत आधिकारिक नभएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ सप्तरी तथा पदाधिकारीमाथि सुनियोजित रुपमा निरन्तर बदनाम गराउने प्रयास गरिएको छ । यो आपत्तिजनक र निन्दनीय छ ।’

महासंघले यस्ता भ्रामक समाचारप्रति आपत्ति जनाउँदै पत्रकार आचारसंहिताको पालना गर्न आग्रह गरेको छ । साथै, भविष्यमै यस्ता तथ्यबिहीन सामग्री प्रकाशित भए कानुनी बाटो समातिने चेतावनी समेत दिइएको छ ।