उपचारका लागि गएकी महिलामाथि अस्पतालमै यौन दुर्व्यवहारको प्रयास

सप्तरी, १८ असार । सप्तरीको खडक नगरपालिकास्थित एडभान्स अस्पतालमा उपचारका लागि गएकी एक दलित महिलामाथि अस्पतालकै स्वास्थ्यकर्मीले बलात्कार प्रयास गरेका छन् ।
खडक नगरपालिका–८ बिसनपुरकी २१ वर्षीया पीडित महिलाले बिहीबार राति करिब ११ बजे पिसाब अड्किएर पेट दुखेपछि एम्बुलेन्समार्फत अस्पताल पुगेकी थिइन् । अस्पताल पुगेपछि ल्याब असिस्टेन्ट श्याम कुमार मण्डलले भिडियो एक्स–रेको बहानामा उनलाई अलग कोठामा लगेर यौन दुर्व्यवहार गरेको आरोप पीडितले लगाएकी छन् ।
पीडितका अनुसार मण्डलले एक्स–रे कक्षमा लगेपछि निजले जथाभावी अंग स्पर्श गर्न थालेका थिए । त्यसपछि अर्को कोठामा लगेर पिसाब निकाल्ने पाइप राख्ने बहानामा जबरजस्ती गर्न खोजेका थिए ।
घटना सार्वजनिक भएपछि प्रहरीले आरोपित मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । सप्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार पीडितको जाहेरीका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
दलित महिला अस्पतालजस्तो संवेदनशील स्थानमै यौन आक्रमणको प्रयासमा परेपछि घटनाले स्थानीय स्तरमा आक्रोश उत्पन्न भएको छ । पीडित पक्षले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
प्रहरीले घटनाको गम्भीरता अनुरूप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


