जनकपुरधाम, १८ असार । जनकपुरधाम उपमहानगरपालिकामा ज्वाइँले आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेका छन् ।

पारिवारिक विवादका कारण भएको भनिएको यो घटनामा ७५ वर्षीय वासुदेव प्रसाद विमलको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम–१५ रामपुर निवासी विमलमाथि उनका ज्वाइँ बेचन महासेठले घरमै पुगेर छुरा प्रहार गरेका थिए । महासेठ जनकपुरधाम–२१ कुर्थाका बासिन्दा हुन् ।

गम्भीर घाइते भएका विमलको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार हत्या पारिवारिक विवादकै कारण भएको पाइएको छ ।

घटनापछि फरार रहेका अभियुक्त बेचन महासेठको खोजीका लागि प्रहरी टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।

प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ भने दोषीलाई चाँडै पक्राउ गरिने दाबी गरिएको छ ।