जनकपुरधाम, १८ असार । साइबर अपराध नियन्त्रण र आत्महत्या न्यूनीकरणजस्ता संवेदनशील विषयमा जनचेतना फैलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाममा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित हिमाली इङ्लिस बोर्डिङ स्कुलमा आयोजित उक्त कार्यक्रम प्रहरी निरीक्षक निकिता कुमारी मिश्राको अगुवाइमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका करिब १६० जना विद्यार्थी, शिक्षक र कर्मचारी सहभागी थिए ।

समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा साइबर अपराधका विभिन्न रूपहरू, त्यसबाट हुन सक्ने मानसिक र सामाजिक असर, आत्महत्याका कारणहरू र रोकथामका उपायबारे सहभागीलाई जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी निरीक्षक मिश्राले सुरक्षित इन्टरनेट प्रयोग, मानसिक स्वास्थ्यप्रति सजग रहने बानी बसाल्ने र संकटका बेला प्रहरी वा विश्वासिलो व्यक्तिको सहयोग लिन प्रेरित गरिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले किशोरकिशोरीहरू सामाजिक सञ्जालको दुरुपयोग, ब्ल्याकमेलिङ र साइबर बुलिङबाट प्रभावित भइरहेकाले यस्ता चेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताए ।