जनकपुरधाम, १८ असार । मधेश प्रदेश सभा सचिवालयको आयोजनामा आयोजित चारदिने युवा संसदीय अभ्यास कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

संसदको कार्यशैली, विधायन प्रक्रिया र संसदीय मर्यादाबारे व्यवहारिक ज्ञान युवाहरुलाई प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम प्रभावकारी र प्रेरणादायी रहेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रमको अध्यक्षता प्रदेश सभा सचिव वाशुप्रसाद कोइरालाले गरेका थिए । प्रमुख अतिथिको रुपमा सभामुख रामचन्द्र मण्डल र विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य राम आशिष यादव उपस्थित थिए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, निवर्तमान अध्यक्ष र प्रशिक्षक मनिका झा, संसदीय मामिला पत्रकार समाजका विरेन्द्र रमणसहित पत्रकार, सचिवालय कर्मचारी र विभिन्न क्षेत्रका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चार दिनसम्म चलेको प्रशिक्षणमा युवाहरूले संसदको प्रक्रियागत अभ्यास मात्र नभई निर्णय प्रक्रियामा संवाद र सहमतिको विविध पक्षसमेत प्रत्यक्ष अनुभव गरेका थिए । मञ्च संचालन, प्रस्ताव पेस, बहस र मतदान प्रक्रिया जस्ता अभ्यासहरू गराइएका थिए ।

कार्यक्रममार्फत युवामा नेतृत्व विकास र नागरिक सहभागिताबारे बुझाइमा वृद्धि भएको आयोजक सचिवालयले जनाएको छ । सभामुख मण्डलले भने, ‘युवाहरुलाई संसदको गहिरो बुझाइको विकास र आगामी नेतृत्वका लागि आधार तयार पार्न यस्ता अभ्यास प्रभावकारी हुनेछन् ।’