उखु किसानको अनुदान कटौतीको विरोध गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम, १८ असार । संघीय सरकारले उखु किसानलाई दिँदै आएको अनुदानमा कटौती गरेपछि जनमत पार्टीले आपत्ति जनाएको छ ।
पार्टीको मधेश प्रदेश समन्वय समितिले बुधबार मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै संघीय सरकारको निर्णय तत्काल फिर्ता गराउन आग्रह गरेको हो ।
समितिका अध्यक्ष राम स्नेही यादवको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रमा उखु किसानको अनुदान कटौती गरेर सरकारले किसानमाथि अन्याय गरिरहेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘मधेश प्रदेशको प्रमुख कृषि उपजमध्ये उखु महत्वपूर्ण छ । यसमा आधारित किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्नेछ ।’ पार्टीले अनुदान कटौतीको निर्णयलाई विभेदपूर्ण व्यवहारको रुपमा लिएको छ । यसलाई तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
जनमत पार्टीले संघीय सरकारसँग संवाद गरेर अनुदानको निरन्तरता सुनिश्चित गर्न मुख्यमन्त्री सिंहलाई आग्रह गर्दै प्रदेश सरकारले किसानको पक्षमा उभिनुपर्नेमा जोड दिएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री सिंहले उखु किसानको हितमा संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ज्ञापनपत्र बुझाउने टोलीमा पार्टीका उपाध्यक्ष सन्तोष पटेल, सचिव कौशलेन्द्र गिरी लगायत अन्य नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


