जनकपुरधाम, १८ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीको धनुषा जिल्ला कमिटिको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजकुमार यादवलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा शोभित महतो र सूर्य पुडासैनी वरिष्ठ उपाध्यक्षका रूपमा चयन भएका छन् भने सचिव पदमा राम नारायण साह निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा बबी कुमारी महतो र सुशील कुमार मण्डल चयन भएका छन् । अधिवेशनबाट कुल ७५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ ।

पार्टीका केन्द्रीय प्रतिनिधिहरू, स्थानीय नेतागण, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको अधिवेशनमा संगठन सुदृढीकरण, जनसंपर्क विस्तार र स्थानीयस्तरमा पार्टी संरचना मजबुत बनाउने विषयमा व्यापक छलफल गरिएको थियो ।

आयोजक समितिका अनुसार अधिवेशनले पार्टीलाई जिल्ला तहमा सशक्त बनाउँदै आगामी राजनीतिक यात्रामा नेतृत्वलाई स्पष्ट दिशा दिने विश्वास व्यक्त गरिएको छ ।