जनकपुरधाम, १८ असार । मधेश प्रदेशकी सांसद तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य ललिता दास (तत्मा)माथि लहानमा लुटपाट र शारीरिक आक्रमणको प्रयास भएको छ ।

सांसद दासले मंगलबार राति साढे १२ बजे लहान चोक नजिकै दुई अपरिचित युवाले आफूलाई पछ्याएर लखेटेको र हातपात गर्न खोजेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

जनकपुरधाममा पार्टी अध्यक्ष उपेन्द्र यादवसँगको भेटपछि लहान फर्किएकी दास घरतर्फ जाँदै गर्दा एनएमबी बैंकको गल्लीमा ती युवाहरूले पछ्याउँदै हमला गर्ने प्रयास गरेका थिए । ‘भागेर ज्यान जोगाएँ, ढोका समयमै खुलेको हुँदा घरभित्र छिर्न सफल भएँ,’ दासले लेखेकी छन् ।

सांसद दासले सिरहा प्रहरी प्रमुख एसपी र लहानका डीएसपीलाई घटनाबारे जानकारी गराए पनि प्रहरी प्रशासनले अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

‘प्रहरी थानाको छेउमै घर भएर पनि हामी असुरक्षित छौं,’ उनले भनिन् । यस घटनालाई उनले दलित समुदायमाथिको हिंसात्मक मानसिकताको निरन्तरता भन्दैसुरक्षा चुनौतीको संज्ञा दिएकी छन् ।

उनले केही महिना अघि आफ्नै घरअगाडि भएको छुरा प्रहारको घटनाको स्मरण गर्दै यस्तो असुरक्षित वातावरणमा कसरी बाँच्ने भन्ने प्रश्न सार्वजनिक रूपमा उठाएकी छन् ।