एम्बुलेन्स जाँचपासमा घुस मागेको आरोप, चालक संघद्वारा कारवाहीको माग

जनकपुरधाम, १७ असार । जनकपुर एम्बुलेन्स चालक संघले यातायात व्यवस्था कार्यालय जनकपुरका इन्जिनियर रामानन्द साहमाथि घुस मागेको आरोप लगाउँदै आवश्यक छानबिनसहित कडा कारबाहीको माग गरेको छ ।
संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाहका क्रममा इन्जिनियर साहले गैरकानुनी रकम मागेको दाबी गरेको हो ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार असार १६ गते सोमबार चालक संघका सदस्य महाशंकर ठाकुरले एम्बुलेन्सको जाँचपास तथा प्रदूषण परीक्षण सम्बन्धी जानकारी लिन यातायात कार्यालय पुगेका थिए । प्रारम्भिक रूपमा ३०० रुपैयाँ राजस्व तिर्न भनिए पनि त्यसपछि इन्जिनियर साहले एक हजार रुपैयाँ मागेको र सेवाग्राहीले ७०० रुपैयाँ बुझाएपछि मात्र प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
जाँचपास प्रक्रियामा संलग्न एक कर्मचारीले पैसा पुगेन भन्दै सेवा रोक्दा सेवाग्राहीसँग भनाभन भएको र त्यसको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भइसकेको छ । संघले आरोप लगाउँदै भनेको छ, ‘कार्यालय प्रमुखले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्नुको साटो भ्रष्टाचारमा संलग्न इन्जिनियरको मनोबल बढाउने काम गरेका छन् । यो कानुनीरूपमा अस्वीकार्य छ ।’
एम्बुलेन्स चालक संघले इन्जिनियर साहमाथि विगतदेखि नै सेवाग्राहीलाई पटक–पटक अनावश्यक दबाब दिँदै जाँचपासका नाममा ५ हजारसम्म घुस लिएको गुनासो आइरहेको उल्लेख गरेको छ ।

‘मानवीय सेवामा समर्पित एम्बुलेन्स चालकहरूलाई निरन्तर हैरानी र आर्थिक शोषण गर्ने प्रवृत्ति तत्काल रोक्नु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दोषी कर्मचारीलाई छानबिनमार्फत कानुनी कारबाही गरियोस् ।’
संघले स्थानीय प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सरोकारवाला निकायहरूलाई तत्काल सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


