जनकपुरधाम, १७ असार । लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीका लागि २०२५/०२६ को कार्यकालका नयाँ नेतृत्वले पदभार ग्रहण गरेका छन् ।

एक समारोहका बीच क्लबका अध्यक्षद्वय हृदयरोग विशेषज्ञ डा. राजेश साह र सुजाता साहले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

पद हस्तान्तरण कार्यक्रममा २०२४/०२५ कार्यकालका अध्यक्ष सुशिल कुमार सिंह र आशा साहले नयाँ नेतृत्वलाई कार्यकालको सफल शुभकामना दिँदै जिम्मेवारी हस्तान्तरण गरे ।

नवनियुक्त अध्यक्षहरूले समाजसेवा र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै समुदायप्रति उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश सांसद तथा लायन्स गार्गीका संस्थापक अध्यक्ष अञ्जना पण्डित, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, जनकपुरधामका पूर्वमेयर बजरंग प्रसाद साहलगायतले शुभकामना मन्तव्य दिँदै लायन्स क्लबको सामाजिक सेवामा सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले लायन्स क्लबहरू जनस्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण लगायतका क्षेत्रमा अझ प्रभावकारी ढंगले क्रियाशील हुनुपर्ने धारणा व्यक्त गरे ।

नयाँ नेतृत्वसहित दुवै क्लबले आगामी दिनमा समुदाय केन्द्रित कार्यक्रममार्फत सामाजिक परिवर्तनको अभियानलाई अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।