जनकपुरधाम, १७ असार । जनमत पार्टीले नेतृत्व सुदृढीकरणको क्रममा दुई वरिष्ठ नेतालाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गरेको छ ।

पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले कपिलवस्तुका दानबहादुर चौधरी र सप्तरीका डा. जयकान्त राउतलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।

पार्टीका वर्तमान उपाध्यक्ष नरेन्द्र चौधरीका अनुसार दुबै नेताको दीर्घ राजनीतिक अनुभव, जनस्तरमा पकड र संगठनमा योगदानलाई मूल्यांकन गर्दै यो निर्णय गरिएको हो ।

वरिष्ठ नेता चौधरीको राजनीतिक यात्रा वि.सं. २०३९ मा गाउँको प्रधानपञ्चबाट सुरू भएको थियो । उनी २०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए भने २०६४ मा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट संविधानसभा सदस्य बनेका थिए । यसबीचमा उनले उद्योग, सामान्य प्रशासन र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

त्यस्तै, डा. जयकान्त राउत हाल जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुखका रूपमा क्रियाशील छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. राउतले हालै मधेश प्रदेशका आठै जिल्लामा संघीय निर्वाचन क्षेत्रस्तरीय समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रमको नेतृत्व गरेका थिए । पार्टी नेताहरूका अनुसार ती कार्यक्रमपछि नेताकार्यकर्तामा उत्साह थपिएको छ । यसले संगठन विस्तारलाई नयाँ गति मिलेको छ ।

जनमत पार्टीले आगामी निर्वाचन तथा संगठन निर्माणलाई दृष्टिगत गर्दै जिम्मेवारी बाँडफाँडलाई थप सशक्त बनाउने रणनीति अनुसार यी मनोनयनहरू गरिएको जनाएको छ ।