जनकपुरधाम, १७ असार । देशभर मनसुन सुरु भएलगत्तै विपद्का घटनाहरू तीव्र गतिमा बढिरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ १५ देखि असार १६ गतेसम्मको पाँच साता अवधिमा मात्र ६७४ वटा मनसुनजन्य विपद्का घटना देशभर घटेका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यी घटनाहरूमा ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन् । मनसुनले देशभर विभिन्न संरचनामा क्षति पुर्याउँदै हालसम्म २६ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी पुर्याएको छ ।

प्राकृतिक प्रकोपमध्ये सबैभन्दा धेरै पहिरोका ८७ घटना देखिएका छन् । पहिरोले ११ घर पूर्णरूपमा भत्काएका छन् भने २५ घरमा आंशिक क्षति पुर्याएको छ । यसबाट मात्र करिब २ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ । साथै, एकवटा पुल, सातवटा गोठ र १४ वटा चौपाया पनि क्षतिग्रस्त भएका छन् ।

त्यस्तै, ६४ वटा बाढीका घटनामा चार जनाको मृत्यु भएको छ भने चारै जना घाइते भएका छन् । बाढीका कारण १२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने चार घरमा क्षति पुगेको छ ।

मनसुनसँगै चट्याङका घटनाहरू पनि उल्लेख्य देखिएका छन् । देशभर ८२ चट्याङका घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यस्तै, हुरीका ४५ घटनाले एक जनाको ज्यान लिएको छ भने तीन जना घाइते भएका छन् ।

प्राधिकरणले आगामी दिनमा मनसुन थप सक्रिय हुने पूर्वानुमान गर्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरूलाई सम्भावित जोखिम न्यूनीकरण र तत्काल उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको प्राधिकरण स्रोतले जनाएको छ ।