बर्दिवासमा स्पा सेन्टरमा प्रहरीको छापा, अश्लील गतिविधिको आशंकामा दुई जना नियन्त्रणमा

महोत्तरी, १७ असार । महोत्तरीको बर्दिवास नगरपालिका–१ मा सञ्चालित ‘रोयल ईएसपीए (मसाज सेन्टर)’ मा अश्लील गतिविधि भइरहेको आशंकामा प्रहरीले छापा मारेको छ ।
सोमबार राति करिब १२ बजे इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले गस्तीका क्रममा उक्त स्पा सेन्टरमा छापा मारेको हो ।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक विकास बमको नेतृत्वमा खटिएको ९ जनाको टोलीले स्थानीय सरोकारवालाहरूको रोहबरमा सो सेन्टरमा तलासी गरेको थियो । प्रहरीका अनुसार कानुनी समयसीमा नाघेर राति अबेलासम्म स्पा सञ्चालन हुँदै आएको थियो । त्यहाँ आपत्तिजनक गतिविधि भइरहेको आशंका गरिएको छ ।
छापा मार्ने क्रममा प्रहरीले स्पा सञ्चालिका र एक सेवाग्राहीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामा धादिङको रुबीभ्याली गाउँपालिका–५ की ३१ वर्षीया (नाम परिवर्तन) रिना राना मगर र भारत, बिहारस्थित सितामढी जिल्लाका १९ वर्षीय (नाम परिवर्तन) सुसिल कुमार साह रहेका छन् ।
प्रहरीका अनुसार दुवैजनाले प्रारम्भिक सोधपुछका क्रममा प्रहरीसँग दुव्र्यवहार गर्दै अनुसन्धान प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरेका थिए । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धान पश्चात् थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बर्दिवास बजार क्षेत्रदेखि करिब १ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्पा सेन्टरको गतिविधिबारे स्थानीयले समेत समय समयमा गुनासो गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


