जनकपुरधाम, १७ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरूले उठाएका मागहरू जायज रहेको भन्दै सरकारलाई तत्काल समाधानतर्फ उन्मुख हुन आग्रह गरेका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यवसायीहरूको आवाज बेवास्ता गर्नु सरकारका लागि घातक हुन सक्ने चेतावनी दिए ।

सरकारले सुनचाँदीलाई विलासिताको वस्तुका रूपमा वर्गीकृत गरेर लिएको निर्णयप्रति आपत्ति जनाउँदै नेता निधिले भने, ‘सुन सम्पत्तिको स्वरूप हो, विलासिता होइन । त्यसैले यस्तो निर्णय लागू गर्नु असंवेदनशील कार्य हो ।’ उनका अनुसार सरकारले निर्णय फिर्ता लिनुका साथै संवादमार्फत समाधान खोज्न तत्पर हुनुपर्छ ।

नेता निधिले देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरूको दुई मुख्य माग तत्काल सम्बोधन गर्नु अपरिहार्य रहेको बताए । उनले समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरी व्यवसायीहरूसँग औपचारिक वार्ता थाल्न सरकारलाई सुझावसमेत दिए ।

धनुषा र महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका नेता निधिले यसअघि काठमाडौंमा व्यवसायीका केन्द्रीय प्रतिनिधिहरूसँग भेट गरिसकेको र पार्टी सभापति शेरबहादुर देउवालाई समेत मुद्दाबारे जानकारी गराइसकेको बताए ।