सुरक्षाकर्मीको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री सिंह

जनकपुरधाम, १७ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामस्थित प्रदेश प्रहरी गणको स्थलगत अनुगमन गर्दै सुरक्षाकर्मीको असहज अवस्थाप्रति चासो व्यक्त गरेका छन् ।
पुराना, जोखिमयुक्त गोदाम र भवनहरूलाई सरसफाइ तथा सामान्य मर्मतपछि कार्यकक्षका रूपमा प्रयोग गरिए पनि प्रहरीहरू बस्न, काम गर्न र आराम गर्न उपयुक्त वातावरण नहुँदा समस्या थपिएको प्रहरीले जानकारी गराएको छ ।
अत्यधिक गर्मीका बीच पंखा, खानेपानी तथा शौचालयको उचित व्यवस्था नहुँदा प्रहरीलाई ड्युटीपछि विश्राममा समेत कठिनाइ भएको गुनासो उनीहरूले मुख्यमन्त्रीसमक्ष राखेका थिए ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सुरक्षाकर्मीहरू जनताको सुरक्षामा अहोरात्र खटिने सेवक भएकाले उनीहरूको सुविधालाई बेवास्ता गर्न नसकिने बताए । उनले प्रदेश सरकारमार्फत शीघ्र समाधानको प्रतिबद्धता जनाउँदै सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी आवश्यक बजेट तथा स्रोत परिचालन गरिने बताए ।
कार्यक्रममा गणपति प्रहरी उपरीक्षक नारायण रञ्जितकार, प्रहरी निरीक्षक बेचन यादवसहितका अधिकारीहरूले प्रहरी गणको भौतिक अवस्था, कार्यगत कठिनाइ तथा आवश्यक सुधारका प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


