काठमाडौँ, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य फेरि वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यको आधारमा निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ । यसैगरी, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा प्रति लिटर ७ रुपैयाँले मूल्य बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट उड्ने इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि गरिएको छ ।

अब पेट्रोलको (तेस्रो वर्ग–काठमाडौँ, पोखरा, दिपायल)का लागि नयाँ मूल्य १६५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । त्यस्तै, डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्नेछ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिका कारण भारतबाट आयात हुने इन्धनको मूल्य समेत बढेकाले यो समायोजन गरिएको हो । भारतबाट प्राप्त पछिल्लो मूल्य अनुसार पेट्रोलमा ७.६४, डिजेलमा ९.१३ र आन्तरिक हवाई इन्धनमा ६.८८ रुपैयाँले खरिद मूल्य बढेको निगमको भनाइ छ ।

एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ ।