हतियारसहित महोत्तरीका दुई युवक पक्राउ

काठमाडौँ, १६ असार । काठमाडौँ प्रहरीले अवैध हतियारसहित दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाका २९ वर्षीय सुरेशकुमार राम र २६ वर्षीय दिनेशकुमार राम रहेका छन् । यद्यपि, उनीहरूको ठ्याक्कै स्थायी ठेगाना भने खुल्न बाँकी रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।
काठमाडौँ महानगरपालिका–८ स्थित तिलगङ्गा क्षेत्रमा हतियार लुकाइएको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाको संयुक्त टोली खटिएको थियो । टोलीले निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको डेरा तलासी गर्दा एक थान कटुवा पिस्तोल, दुई थान म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, १५ थान ब्याट्री, एक थान खुकुरी र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।
हाल दुवैजनामाथि हातहतियार सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको आपराधिक उद्देश्य, योजना र सम्भावित संलग्नताका विषयमा गहिरो अनुसन्धान अगाडि बढाएको बताएको छ ।
प्रहरीका अनुसार उपत्यकामा अवैध हतियार बोकेर हिँड्ने वा लुकाउने गिरोहमाथि निगरानी कडा बनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


