जनकपुरधाम, १६ असार । मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनको माग सत्तारुढ गठबन्धनभित्रैबाट चर्कंदै गएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठबन्धनको पूर्वसहमति अनुसार अब सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने दाबी गरेसँगै नेपाली कांग्रेसको असन्तुष्टि पनि खुलेर सार्वजनिक भएको छ ।

लोसपाका केन्द्रीय महासचिव तथा प्रदेशसभा सदस्य उपेन्द्र महतोले जनमत पार्टीको नेतृत्वको अवधि सकिएको दाबी गर्दै अब नेतृत्व फेर्नुपर्ने बताएका छन् । ‘हामी एक वर्षपछि नेतृत्व हस्तान्तरण गर्ने सहमतिअनुसार सरकारमा गएका थियौं,’ उनले भने, ‘तर, जनमत पार्टी नेतृत्व लम्ब्याएर राजनीतिक बेइमानी गरिरहेको छ ।’

महतोले हालको सरकारलाई ‘बेतिथिपूर्ण कामको सर्जक’ भन्दै जनमत पार्टीमाथि समन्वयहीन ढंगले सरकार चलाएको आरोप लगाए । ‘सत्ता हस्तान्तरणमा ढिलाइ लोकतान्त्रिक अभ्यासको अपमान हो,’ उनले भने ।

उनका अनुसार संघीय गठबन्धन प्रणालीअनुसार पालैपालो नेतृत्व सुम्पिने सहमति भएको थियो । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत समर्थन जनाएका थिए ।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाएको छ । प्रदेश कांग्रेस सभापति कृष्णप्रसाद यादवले बजेट निर्माणमा देखिएको त्रुटिको नैतिक जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्ने माग गरेका छन् । ‘मुख्यमन्त्रीको प्रत्यक्ष संलग्नता हुँदाहुँदै दोष अर्थमन्त्रीमाथि थोपर्नु सत्तालोलुपता हो,’ उनले टिप्पणी गरे ।

कांग्रेसका अनुसार जनमत पार्टीले बजेट बहसलाई अन्यत्र मोड्दै आफ्नो सत्ता जोगाउने रणनीति मात्र अपनाइरहेको छ ।

लोसपाले सत्ता हस्तान्तरणको प्रक्रिया तत्काल थाल्नुपर्ने माग गर्दै उच्च राजनीतिक तहमा संवाद अघि बढाउने बताएको छ । गठबन्धनभित्रैबाट चुलिएको असन्तुष्टि र शक्ति सन्तुलनको तनावले मधेश प्रदेशको राजनीतिक स्थिरता अझै अनिश्चित देखिएको छ ।