जनकपुरधाम, १६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्ला तीन दशकभन्दा बढी समयको ’गलत नेतृत्व’कै कारण मुलुक जटिल मोडमा पुगेको आरोप लगाएका छन् ।

जनकपुरधाममा पार्टीको सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित दुई दिवसीय आइटी प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सत्ताका नेतृत्वकर्ताहरूले मुलुकलाई अधोगतितर्फ धकेलेको दाबी गरे ।

‘प्रजातन्त्र पुनःस्थापनापछिका ३५ वर्षमा गलत नेतृत्व हावी रहँदा उद्योगधन्दा बन्द भए, कृषि प्रणाली धराशायी भयो र देश आर्थिक संकटमा फस्यो,’ यादवले भने, ‘आजसम्म नेतृत्वले जनताको आवश्यकता भन्दा आफ्नै स्वार्थलाई प्राथमिकता दियो ।’

संविधान संशोधनको विषयमा सरकार गम्भीर नभएको भन्दै अध्यक्ष यादवले आलोचना गरे । ‘इतिहासमै बलियो भनिएको सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएको भए पनि ‘संशोधन’ शब्दको ‘स’ समेत उच्चारण गर्न चाहँदैन, यो दुर्भाग्य हो,’ उनले भने ।

उनका अनुसार पछाडि पारिएका समुदायको स्रोत, साधन र अवसरमा पहुँच नहुँदासम्म मुलुकमा समृद्धिको कुरा केवल नारामा सीमित हुनेछ ।

कार्यक्रममा जसपाका विदेश विभाग प्रमुख अर्जुन थापा, केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादव, मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवलगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता विभाग प्रमुख जीतेन्द्र कुमार यादवले गरेका थिए ।

जसपाले देशभरका ८५ जना प्रशिक्षार्थी सहभागी भएको दुई दिवसीय आइटी प्रशिक्षणलाई संगठन सुदृढीकरण र प्रविधिमैत्री संगठन निर्माणतर्फको पहलको रूपमा अगाडि बढाएको जनाएको छ ।