कृषि सामग्री कम्पनी जनकपुरः चालु वर्षमा ३६ करोडको मल बिक्री

जनकपुरधाम, असार १६ । कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ३६ करोड ३९ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ ।
कम्पनीका निमित्त कार्यालय प्रमुख बेचन साहका अनुसार युरिया, डिएपी र पोटास गरी तीन प्रकारका मल बिक्री वितरण गरिएको हो ।
कम्पनीका अनुसार हालसम्म १४ करोड ३० लाख २२ हजार रुपैयाँको युरिया, २२ करोड २४ लाख ६५ हजार रुपैयाँको डिएपी र ८४ लाख ७५ हजार रुपैयाँको पोटास बिक्री गरिएको छ ।
वर्षभरिमा कम्पनीले आठ हजार १७२ मेट्रिकटन युरिया प्राप्त गरेकोमा आठ हजार ४०८.१५ मेट्रिकटन बिक्री गरेको छ । यस्तै, डिएपी पाँच हजार २५८ मेट्रिकटन प्राप्त भई चार हजार ८३५.१५ मेट्रिकटन बिक्री भएको र पोटास दुई सय ९७ मेट्रिकटन प्राप्त भई दुई सय ४९.२० मेट्रिकटन बिक्री गरिएको प्रमुख साहले जानकारी दिए ।
गत वर्षको मौज्दात पनि खपतमा गएको देखिन्छ । कम्पनीका अनुसार अघिल्लो वर्ष बाँकी रहेको युरिया ९६२.५० मेट्रिकटन, डिएपी ८३.७५ मेट्रिकटन र पोटास ९८.५० मेट्रिकटन थियो ।
चालु आर्थिक वर्षमा युरिया प्रतिबोरा ८५० रुपैयाँ ५० पैसा, डिएपी २३ हजार रुपैयाँ र पोटास १७ हजार रुपैयाँमा बिक्री भइरहेको निमित्त प्रमुख साहले बताए ।
कम्पनीले धनुषा र महोत्तरी जिल्लाका २०९ डिलरमार्फत मल वितरण गर्दै आएको छ । मलखाद्य वितरण मलखाद्य निर्देशिका, २०७७ अनुसार स्थानीय तहमा गठित ‘मलखाद्य वितरण व्यवस्थापन समिति’मार्फत नियमन भइरहेको छ ।
समितिमा उपमेयर वा उपाध्यक्ष प्रमुख संयोजक रहने व्यवस्था छ भने प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख सदस्य र कृषि प्राविधिक सचिव रहने प्रावधान छ ।
यस समितिले मलको मूल्य दर निर्धारण, बिक्री व्यवस्थापन र कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी पाएको छ । प्रमुख साहका अनुसार मल वितरण सम्बन्धी कोटा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सम्बन्धित पालिकाको सिफारिसअनुसार निर्धारण गर्ने गरेको छ ।
डिएपी मलको माग उच्च भएका कारण कोटा थप्ने निर्णय भइसकेको र छिट्टै मल आउने तयारीमा रहेको साहले बताए । उक्त मल धान, गहुँ, मकै लगायतका अन्नबाली र तेलहन बालीका लागि वितरण भइरहेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


