महोत्तरी, १५ असार । साढे चार वर्षअघि बर्दिवासमा घटेको बालिका गुलाप्सा खातुनको बलात्कारपश्चात् हत्या प्रकरणमा फरार रहेका मुख्य अभियुक्तका बाबुआमा ६० वर्षीय राजकिशोर साह र ५१ वर्षीया शुशिला देवी साह पक्राउ परेका छन् ।

२०७७ साल मंसिर ९ गते बर्दिवास–१४ स्थित झाडीमा भेटिएको गुलाप्सा खातुनको शवले देशभर सनसनी फैलाएको थियो । बाराको कलैया उपमहानगरपालिका–१५ स्थायी घर भई बर्दिवासमा डेरा गरी बस्दै आएकी ६ वर्षीया गुलाप्सा दुई दिनदेखि हराएकी थिइन् ।

घटनापछि अनुसन्धान अघि बढाउँदा गुलाप्सामाथि बलात्कार गरी हत्या गर्ने अभियुक्त उनका छिमेकी अरुण कुमार साह रहेको खुलेको थियो । उनले बालिकालाई ललाईफकाई घरभित्र लगेर बलात्कारपछि हत्या गरेका थिए । शवलाई बोरामा हालेर घरनजिकको झाडीमा फालेका थिए ।

प्रमुख अभियुक्त अरुणलाई प्रहरी पहिल्यै पक्राउ गरी जलेश्वर कारागारमा पुर्पक्षमा राखिसकेको छ । तर, उनका बाबु–आमा राजकिशोर र शुशिला देवी भने घटना यता फरार रहँदै भारतमा लुकिछिपी बसिरहेका थिए ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले उनीहरूलाई जलेश्वर नगरपालिका–१२ नैन्ही नजिकको सीमावर्ती क्षेत्रमा शुक्रबार पक्राउ गरेको हो । उनीहरू आफन्तसँग भेटघाट गर्न सीमाक्षेत्र आएका थिए ।

प्रहरी प्रमुख एसपी हेरम्ब शर्माका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि महोत्तरी जिल्ला अदालतमा पेश गरिएको छ । उनले बाँकी फरार अभियुक्तहरूको खोजी पनि तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन् ।