जनकपुरधाममा मिथिलाक्षर प्रशिक्षण सम्पन्न

जनकपुरधाम, १५ असार । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित १५ दिवसीय मिथिलाक्षर प्रशिक्षण कार्यक्रम आइतबार विधिवत रूपमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी ४० जना प्रशिक्षार्थीलाई सम्मानपत्र तथा गम्छा ओढाएर सम्मान गरियो ।
समापन समारोहमा विभिन्न वक्ताहरूले मिथिलाक्षर लिपिको संरक्षण, प्रचारप्रसार र पुस्तान्तरण आवश्यक भएकोमा जोड दिएका थिए । मिथिला नाट्यकला परिषद्का अध्यक्ष प्रमेश झाले भने, ‘मिथिलाक्षर लिपि ब्राह्मण–कायस्थ समुदायको मात्रै नभई सबै जातजातिको साझा सम्पत्ति हो । त्यसैले सबै जातिका मानिसले यसलाई आत्मसात् गर्दै संरक्षणमा भूमिका खेल्नुपर्छ ।’

प्रशिक्षक गोपाल झाले सहभागीहरूलाई ‘सेवाको भावना र आनन्दका साथ लिपिको अध्ययन गर्न’ सुझाव दिए । उनले भने, ‘मिथिलाक्षर लोप हुने अवस्थामा पुगेको हो भने त्यसको जिम्मेवार सरकार होइन, हामी आफैं हौं । आज जनकपुरधामका पसलका साइनबोर्डदेखि चित्रकलासम्ममा यदि मिथिलाक्षरको प्रयोग भएको छैन भने त्यो हामी सबैको कमजोरी हो ।’
बरिष्ठ पत्रकार सुजित झाले मिथिलाक्षर र नेवारी लिपिलाई नेपाली पाठ्यक्रममै समावेश गर्नुपर्ने माग गरे । उनले भने, ‘लिपी जोगाउन भाषाको मात्र नभई सांस्कृतिक पहिचानको पनि संरक्षण हुन्छ । संसारका धेरै भाषा लोप भएका छन् । मिथिलाक्षर लिपिको अवस्था पनि त्यस्तै नहोस् भनेर हामी सजग हुनुपर्छ ।’

त्यस्तै, चित्रकार विजयदत्त मणिले लिपिको निरन्तर प्रयोग र पुस्तान्तरणमा जोड दिँदै भने, ‘जे सिख्यौं, त्यो अरू ४–५ जनालाई सिकाउनुहोस् । निरन्तर प्रयोग भएन भने सीप पनि भोलिका दिनमा काम लाग्दैन ।’
कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै वरिष्ठ साहित्यकार रोशन जनकपुरीले समाजमा लिपिको सम्मान र प्रयोग बढाउने कार्यमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले लिपिमा लेखिएका पोस्टर तथा मिथिला चित्रकला पनि प्रदर्शन गरेका थिए । आयोजकका अनुसार आगामी दिनमा विद्यालयस्तरमै मिथिलाक्षर पठनपाठन अभियान सुरु गरिने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

