सिरहा, १५ असार । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोमाथि डेढ तोला सुन उधारो लिएर रकम नतिरेको आरोप लागेको छ ।

स्थानीय सुन व्यवसायी विकास ट्रेडर्सले आइतबार नगरपालिकामा लिखित उजुरी दर्ता गराउँदै उपमेयर महतोले २ लाख ५१ हजार ४३० रुपैयाँ भुक्तानी नगरेको दाबी गरेका हुन् ।

उजुरी अनुसार २०८१ साउन ३० गते उपमेयर महतोले डेढ तोला सुन उधारोमा लिएका थिए । चार–पाँच दिनभित्र रकम तिर्ने सहमति भएको थियो । तर, एक वर्ष नजिक पुग्दासमेत उनले रकम तिर्न अस्वीकार गर्दै आएका उजुरीदाताको आरोप छ ।

विकास ट्रेडर्सका सञ्चालक राजाराम सारदाले बारम्बार ताकेता गर्दा पनि रकम तिर्ने कुनै चासो नदेखिएको गुनासो गरे । ‘उहाँ सार्वजनिक पदमा हुनुहुन्छ भनेर धेरै बेरसम्म सहजै माग गर्यौं । तर, अब नियत प्रष्ट भएकाले हामी उजुरी दिन बाध्य भयौं,’ सारदाले भने ।

लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले उजुरी दर्ता भएको पुष्टि गर्दै विषयलाई बोर्ड बैठकमा प्रस्तुत गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको जानकारी दिएका छन् । ‘हामी यसबारे औपचारिक प्रक्रियाअनुसार अघि बढ्नेछौं,’ उनले भने ।

यता, आफूमाथि उजुरी परेकोबारे उपमेयर महतोले अनभिज्ञता जनाउँदै विषयलाई आन्तरिक भनाइमा टारेका छन् । ‘हामीबीच केही आन्तरिक कुरा थिए होलान् । तर, म उजुरी परेको विषयमा अहिले केही जान्दिन,’ उनले छोटो प्रतिक्रिया दिए ।