जनकपुरधाम, १५ असार । २२औं राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्पूर्ण किसान तथा मधेशबासीलाई शुभकामना व्यक्त गर्दै कृषिका माध्यमबाट आर्थिक समृद्धि र खाद्य आत्मनिर्भरता हासिल गर्ने सरकारको स्पष्ट प्रतिबद्धता दोहोर्याएका छन् ।

मुख्यमन्त्री सिंहले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाइएको जानकारी दिँदै भने, ‘उत्पादन मधेशमा, विस्तार देशमा भन्ने नारासहित प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, उत्पादकत्व अभिवृद्धि र कृषिजन्य वस्तुको आयात घटाउने नीति अपनाएको छ ।’

मुख्यमन्त्री सिंहका अनुसार प्रदेश सरकारद्वारा ‘दुई धान बाली प्रवद्र्धन कार्यक्रम’ लागू गरिएको छ । यसअन्तर्गत धान उत्पादनलाई सुदृढ बनाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । साथै, माटोको उर्वरता सुधार, सिँचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरण प्रदेश सरकारका प्राथमिक एजेन्डामा छन् ।

मुख्यमन्त्रीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवद्र्धनमार्फत धानको दिगो उत्पादन सुनिश्चित गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताए । ‘किसानको जीवनस्तर उकास्नका लागि उन्नत बीउ, मल र सिँचाइको सहज पहुँच अनिवार्य छ । प्रदेश सरकार यही दिशामा काम गरिरहेको छ,’ सिंहले भने ।

धान दिवसको अवसरमा किसानको योगदानलाई स्मरण गर्दै मुख्यमन्त्री सिंहले भने, ‘राष्ट्रिय धान दिवसले खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा संकल्प र प्रेरणा मिलोस् । सम्पूर्ण किसान दाजुभाइ–दिदीबहिनीप्रति सम्मानसहित शुभकामना व्यक्त गर्दछु ।’